साना-ठूला गाडीको छुट्टै रुट, उपत्यकाभित्र ६६ वटा रूट तय

काठमाडौं - यातायात व्यवस्था विभागले साना र ठुला गाडी गुडाउन छुट्टाछुट्टै रुट दिने तयारी गरेको छ । उपत्यकाको सवारी जामलाई व्यवस्थित गर्न विभागले साना र ठुला गाडी गुडाउन छुट्टाछुट्टै रुट दिने भएको हो । विभागले अहिले काठमाडौं उपत्यकाभित्र ६६ वटा रूट तय गरेको छ । अब विभागले छुट्याएको रुटबाहेकका सडकमा सार्वजनिक यातायात गुड्न पाउने छैनन् ।

सार्वजनिक सवारी व्यवस्थापन गर्न विभागले दशै लगत्तै रूट छुट्याउने भएको छ । विभागले सडकको जामलाई व्यवस्थित गर्न र सवारी प्रदूषण नियन्त्रण गर्न सवारी रुट व्यवस्थापन थालेको हो । पहिले चरणमा उपत्यका र त्यसपछि देशका ठूला सहरमा क्रमशः ठूला र साना गाडी गुड्न फरक/फरक रूट दिइने भएको छ ।

उपत्यकामा अहिले ठूला तथा साना गरी दैनिक १२ लाख सवारी गुड्ने गर्छन् । उपत्यकाबासी ट्राफिक जामको समस्या दैनिक भोग्न बाध्य छन् । सडकको क्षमताभन्दा ठूलो आकारको ध्रुववाराही यातायातलाई कपनको तेन्जिङ चोकदेखि सुकेधारा हुँदै गुड्ने अनुमति दिँदा प्रत्येक समय जाम हुने गरेको स्थानीयको भनाइ छ ।

अहिले उपत्यकामा थपिएका ठुला बसलाई चक्रपथ परिक्रमा गराउने र साना गाडीलाई भित्री रुटमा राख्ने तयारी थालिएको छ । उपत्यका र ठूला सहरमा रुटलाई व्यवस्थित गर्न नसक्दा जाम बढेर यात्रुले सास्ती खेप्न बाध्य भएको भन्दै तत्काल सडकको क्षमता र लम्बाई अनुसार रुटलाई पुन व्यवस्थापन गर्नु पर्ने यात्रुले माग गरेपछि विभागले काम अघि बढाएको छ ।

अब गाडीको क्षमता, सडकको क्षमता, लम्बाई हेरेर रूट दिने तयारी विभागले गरेको छ । विभाग यतिबेला पुरानो रूट परमिटलाई खारेज गरी नयाँ दिने तयारीमा छ । चक्रपथ परिक्रमा गर्ने सार्वजनिक सवारी समेत ठूला साना एकै ठाउँमा गुड्नाले एक घण्टासम्म जाम हुने गरेको छ ।

जडिबुटि, कोटेश्वर, गौशाला, चाबहिल, नारायणगोपाल चोक, कलंकी, सातदोबाटो र भित्री रुटमा घन्टौं जाम हुने गरेको छ । जाममा रोकिनु पर्दा चालु अवस्थामा रहने हजारौं सवारीमा हुने इन्धन खपतमा करोडौंको खर्च हुने गरेको छ ।

Subscribe Now