Check, click, shop
अझै लागेन बागमती अञ्चलमा मोटरसाइकल दर्ताको टुङ्गो,  राजस्व गुम्दै

काठमाडौं - बागमती अञ्चलमा मोटरसाइकल दर्ताको अझै टुङ्गो लागेको छैन । समस्या समाधानका लागि यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयको रायसहित नियमावली संशोधनका लागि मन्त्रिपरिषद्ममा पेश गरेको थियो । तर प्रधामन्त्री केपी शर्मा ओलीले संघीय संविधानले अञ्चल संरचना नचिन्ने भनेपछि नियमावली संशोन हुन सकेन जसले गर्दा मोटरसाइकल दर्ता अन्योलमा परेको छ ।

सबै यातायात कार्यालयहरू साबिक अञ्चल संरचनामै चलिरहेका छन् भने यातायातसँग सम्बन्धित सबै सफ्टवेयर र कोडहरू अञ्चल संरचनामै आधारित छन् । जसले गर्दा तत्काल प्रदेश संरचनामा सवारी दर्ता सम्भव छैन । अहिले नयाँ दुईपाङ्ग्रे सवारी दर्ता गर्न चाहनेले अन्य अञ्चलमा जानुपर्ने अवस्था छ । त्यस्तै कार्यालयले सेवा प्रवाह समेत गर्न सकेको छैन ।

बागमती अञ्चलमा दसैंअघिसम्म दुईपाङ्ग्रे सवारी दर्ता नहुने हो भने दुवै तहका सरकारले ३ अर्बभन्दा बढी राजस्व गुमाउने छन् । यो सिजनमा उक्त कार्यालयले दैनिक करिब ५० लाख राजस्व उठाउँदै आएको थियो । बागमतीमा दुईपाङ्ग्रे सवारी दर्ता रोकिएपछि नयाँ मोटरसाइकल दर्ता साबिक नारायणी अञ्चल (प्रदेश २) र गण्डकी अञ्चल (प्रदेश ४) मा हुन थालेको छ । अहिले प्रदेश ३ ले पाउने राजस्व प्रदेश २ र प्रदेश ४ मा गएको छ । यसले प्रदेश सरकारलाई राजस्व उठौतीमा चुनौती थपिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद्को बैठकले नियमावलीलाई संशोधनकै निर्णय गराउने आश्वासन दिएको छ । हालसम्म यातायातका सबै काम अञ्चल संरचनामै भइरहेको छ । लाइसेन्स, सवारी दर्ता, अञ्चल स्थानान्तरण लगायतका काम अञ्चल संरचनाकै सफ्टवेर अनुसार भइरहेको छ । संघीयता कार्यान्वयन भएको १ वर्ष भन्दा बढी भइसकेको र गत साउन १ देखि यातायात कार्यालयहरू प्रदेश सरकार मातहतमा गएको छ । तर अहिलेसम्म सरकारले संघीय यातायात ऐन बनाएर प्रदेशलाई कार्यालय हस्तान्तरण गर्ने काममा कुनै चासो देखाएको छैन ।

Subscribe Now