टाटा नेक्सनको बुकिङ शुरु

पुष २४,२०७४
टाटा नेक्सनको बुकिङ शुरु

काठमाडौं – टाटाको नयाँ एसयूभी ‘नेक्सन’ को बुकिङ नेपालमा पनि प्रारम्भ भएको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका देशभर रहेका सोरुम र डिलरहरुबाट नेक्सन गाडी बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सहरका लागि सहज र उत्कृष्ट मानिएको बोल्ड र स्पोर्टी एसयूभी टाटा नेक्सनमा कारमा हुनुपर्ने सबै विशेषतालाई समावेश गरिएको कम्पनीको भनाइ छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्सको चौथो उत्पादन हो । यस कारलाई २५ हजार रुपैयाँमै बुकिङ गर्न सक्ने बताइएको छ । आधिकारिक रुपमा सार्वजनिक नगरिए पनि नेपाली बजारमा यसको मूल्य भेरिएन्ट अनुसार ३३ लाख देखि ४८ लाख रुपैयाँ सम्म पर्ने बताइएको छ ।

इन्डिया अटो एक्स्पो २०१४ मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेलादेखि नै चर्चाको विषय बन्न सफल भएको टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड (प्यासेञ्जर भेइकल) सुजन रोयले बताए । पृथक स्टाइलिङ र तारिफयोग्य विशेषताले टाटा नेक्सन युवा ग्राहकका लागि शहरी क्षेत्रमा उत्कृष्ट सावित हुने उनको भनाइ छ ।


टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर २०१७ मा भारतीय भूमिमा सार्वजनिक गरेको थियो । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको कम्पनीको भनाइ छ ।

स्टाइलिङ ड्युअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केही नवीन र चाख लाग्दो स्टाइल तत्वले कारको लुक्स र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेलल्याम्प तथा १६ इञ्च एलोई ह्वीलजस्ता यस कारका महत्वपूर्ण विशेषता छन् । यसको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरियर, उत्कृष्ट फिट तथा फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको कम्पनीको भनाइ छ ।

यो कारले केही दिन अघि मात्र भारतमा वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड पाएको छ । एनडीटीभी कार तथा बाइक अवार्डमा नेक्सनले यो सम्मान पाएको हो ।

कमेन्ट गर्नुहोस्