Check, click, shop
भदौ २७ बाट दसैंको अग्रिम बुकिङ खोल्ने सहमति
काठमाडौं – यातायात व्यवसायीहरु भदौ २७ बाट दसैंको लागि अग्रिम टिकट खोल्न सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि व्यवसायीले सडकको अवस्था खराब रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनमा चासो नदिएको कारण उल्लेख गर्दै बुकिङ खोल्न मानेका थिएनन् ।

बैठकमा सहभागी यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अग्रिम बुकिङ पुरानै भाडादरमा हुने र चाडबाड सकिएपछि बैज्ञानिक भाडादर निर्धारण प्रक्रिया अगाडि बढाउन मन्त्रालय सहमत भएको जानकारी दिए । बैठकमा यात्रुहरुको सामान बसको छतमा लैजाने विषयमा पनि सहमति भएको छ ।

छतमा सामान राख्ने दिने र मन्त्रालयले वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् । दसैंका लागि काठमाडौंको नयाँ बसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रिम बुकिङ खुला हुनेछ ।

 

Subscribe Now