मैतिदेवी - नयाँ बसपार्क रुटमा बिहीबारदेखि चल्ने भए ठूला बस

काठमाडौं : मैतिदेवी - नयाँ बसपार्क रुटमा बिहीबारदेखि  दिगो सार्वजनिक यातायातका ठूला बस चल्ने भएका छन् । यातायात व्यवस्था विभागले सो रुटमा वैशाखदेखि ठूला बस सञ्चालन गर्ने भनेको थियो । तर, बस आयातमा भएको ढिलाइका कारण सञ्चालन अन्योलमा पर्दै आएको थियो । 

बिहीबारदेखि एफफाइभ रुटमा ५० सिटे १७ ठूला बस सञ्चालन हुने छ । बिहीबार साढे एक बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बस सञ्चालनको उद्घाटन गर्ने तयारी भइसकेको छ । यी बस एयरपोर्ट-सिनामङगल-पुरानो बानेश्वर-मैतीदेवी-डिल्लीबजार-रत्नपार्क-लैनचौर-सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन् । फर्किने क्रममा नयाँ बसपार्क-गोंगबु-सामाखुसी-गल्कोपाखा-लैनचौर-जमल-कमलपोखरी ज्ञानेश्वर-मैतीदेवी-पुरानो बानेश्वर-सिनामङ्गल हुँदै एयरपोर्टसम्म पुग्ने बताइएको छ ।

हाल यो रुटमा सञ्चालनमा रहेका ६६ ओटा सफा टेम्पो र साना माइक्रो विस्थापित हुने भएका छन् । ठूला बस सञ्चालनमा आएपछि ती साना सवारीलाई अन्य रुटमा स्थानातरण गरिनेछ ।

Subscribe Now