सञ्चालनमा आयो नेपालकै पहिलो बेबी ड्राइभिङ सेन्टर

काठमाडौं – काठमाडौंको तिनकुनेमा नेपालकै पहिलो बेबी ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ ।

विगत १७ वर्ष देखि सञ्चालनमा रहेको ब्लू मुन मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले हिजोवाट बेबी ड्राइभिङ सेवा सुचारु गरेको हो । १२ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी बेबी ड्राइभिङ सेवा दिन लागिएको सञ्चालक नवराज सत्यालले जानकारी दिएका छन् ।

कम्पनीले यस सेवालाई सर्वशुलभ बनाउनका लागि सबै वालवालिकाहरुलाई लक्षित गरी २०० रुपैयाँमा आधा घण्टाको तालिम दिने भएको छ । नाफा कमाउने उद्देश्यले भन्दापनि अहिलेको समयमा बच्चाहरुमा देखिएको विद्युतीय ग्याजेट प्रतिको मोह हटाउनको लागि सुचारु गरिएको सञ्चालक सत्यालले जानकारी दिएका छन् ।

डिजिटल ड्रग्सको अत्याधिक प्रयोगले बालबालिकामा देखिएको अनेकौं समस्याहरुलाई केही हदसम्म रोकथाम गर्ने वेवी ड्राइभिङले विश्वास लिएको छ ।

मोटर चलाउँदा बालबालिकालाई डिजिटल ड्रग्सको जस्तो खतरा नहुने पनि सत्यालयको भनाइ छ । उक्त सेन्टरमा बालबालिकाको लागि भनी साना गाडीको व्यवस्था गरिएको छ । साथै एउटा विद्यार्थी बराबर दुईजना शिक्षक पनि राखिएको छ । अहिले १० वटा गाडीद्वारा सेवा शुरु गरिएको छ । कम्पनीको २० वटा गाडीहरु थप गर्ने योजना रहेको छ ।

बालबालिकालाई सानैदेखि नै ड्राइभिङ शिक्षा प्रयोगात्मक रुपमा दिनको लागि यस्तो सेवा शुरु गरिएको हो । यस प्रकारको सीपमुलक शिक्षा सानै देखि दिनाले उनीहरुमा ड्राइभिङ सम्वन्धि ज्ञान वढ्नुका साथै ट्राफिक ज्ञान पनि वढ्ने विश्वास गएिको छ ।

यस्तो शिक्षाले बालबालिकाहरुलाई मोबाइल, ल्यापटप, ट्यावलेटमा खेलिने गेमवाट टाढा राख्न सहयोग गर्छ । मोबाइलमा घण्टौसम्म गेम खेलेर विताउने बालबालिकाहरुको लागि वेवी ड्राइभिङ उपयुक्त हुने श्रीमती शोभा सत्याल बताउँछिन ।

बालबालिकाहरु डिजिटल ड्रग्स तथा विद्युतीय ग्याजेटको प्रयोगद्वारा दिमागमा पर्ने असरको भयावह अवस्थालाई न्यूनीकरण गर्नको लागि वेवी ड्राइभिङ सेन्टर उपयुक्त हुने संस्थाका सञ्चालक सत्यालको भनाइ छ ।

यस प्रकारको सेन्टर नेपालमा पहिलो पटक खोलिएको र यसले बच्चाहरुलाई आकर्षित बनाउने सत्यालको दावी छ । पहिलो परिक्षण सफल भएपछि चितवन र काभ्रेमा पनि यस प्रकारको ड्राइभिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

Subscribe Now