Check, click, shop
अटो भिलेज व्यवस्थित बन्ने अपेक्षा छ : ज्योति भण्डारी
ज्योति भण्डारी बुटवल अटो भिलेज कम्पनीका बोर्ड डाइरेक्टर हुन् । बुटवलको मैनाबगरमा अवस्थित अटो भिलेजलाई व्यवस्थित बनाउनका लागि गठित बुटवल अटो भिलेज कम्पनीले विभिन्न व्यावसायिक योजना तयार पारेको उनी बताउछन् ।

बुटवल अटो भिलेजलाई व्यवस्थित बनाउनका लागि एसियाली विकास बैंकले ५० प्रतिशत अनुदान दिने भएको छ । व्यवसायीहरुले ३० प्रतिशत उठाउने भएका छन् । विभिन्न संस्थाहरुले सहुलियत दरमा २० प्रतिशत ऋण प्रदान गर्ने भएका छन् । यसलाई थ्रीपी मोडल भनिएको छ । यसमा १ करोड भन्दा बढी रुपैयाँ लगानी गर्ने योजना छ । अब देशमा स्थानीय सरकार समेत निर्माण भएकोले अब बुटवलको अटो भिलेज व्यवस्थित बन्ने अपेक्षा गरिएको भण्डारीले बताए ।

भण्डारी बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका पूर्व अध्यक्ष पनि हुन् । त्यसैगरी उनी नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका सचिव पनि हुन् । त्यसैले अटो इन्जिनियरिङ र मेकानिक्स क्षेत्रमा समेत उनले धेरै काम गर्दै आएका छन् । अटो व्यवसायी तथा मजदुरहरुलाई आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण प्रदान गर्नका लागि भूमिका खेलेका छन् ।

थ्रीपी प्रोजेक्टलाई सफल पार्ने, अटो भिलेजलाई धुलो मुक्त प्रदुषण रहित क्षेत्र बनाउने र त्यसका लागि सरसफाई महाअभियान पनि संचालन भइसकेको छ । यसमा नगरपालिका र सरोकारवाला निकायले सहयोग गरे अटो भिलेज क्षेत्रलाई साँच्चै नमुना क्षेत्र बनाउने प्रयासमा सफल हुने उनले बताए । अटो व्यवसायी साथीहरुबाट पनि राम्रो सहयोग मिल्दै आएको उनको भनाइ छ ।

अटो क्षेत्रमा निकै प्रतिस्पर्धा छ । अन्य ठाउँमा पनि अटो ग्यारेज खुलेका छन् । बुटवलको मैनावगर देशकै नमूना अटो भिलेज हो । यहाँ राम्रो गुणस्तरीय सेवा पाइन्छ भन्ने धेरैको धारणा छ । यसलाई थप व्यवस्थित बनाउनका लागि बुटवल अटो भिलेज कम्पनीले आगामी दिनमा थप कार्य गर्ने उनले जानकारी दिए ।

बुटवल अटो भिलेजमा ढल नाली, खानेपानी सरसफाई अझै व्यवस्थित हुन सकेको छैन । अनि अटो क्षेत्रको स्पष्ट नीति नियम नहुँदा अटो व्यवसायीहरु धेरै समस्या भोग्न बाध्य छन् । करिब ६ सय अटो व्यवसायी बसोबास गर्ने यो क्षेत्रमा विद्युतको समस्या पनि जल्दो बल्दो रुपमा छ । यी सबै कार्यका लागि आगामी दिनमा आफूहरुले थप भूमिका खेल्ने भण्डारी बताउछन् ।

Subscribe Now