अटो भिलेजलाई धुलो मुक्त क्षेत्र बनाउने प्रयासमा छु : अध्यक्ष सन्तोष पाण्डे

श्रावण ३२,२०७४
अटो भिलेजलाई धुलो मुक्त क्षेत्र बनाउने प्रयासमा छु : अध्यक्ष सन्तोष पाण्डे

२०३२ सालमा रुपन्देहीको भैरहवामा जन्मिएर लामो समयदेखि बुटवलमा व्यवसाय गर्दै आएका बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सन्तोष पाण्डे अब अटो व्यवसायका क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । उनी हाल जुपिटर अटो डिस्ट्रव्युटर्स प्रालि र नर्थ हाइड्रो इन्जिनियरिङ प्रालिमा अध्यक्षको रुपमा समेत आवद्ध छन् । प्रस्तुत छ अटो क्षेत्रका विषयमा पाण्डेसँग नेपाल अटोका लागि दामोदर खनालले गरेको कुराकानीको सार संक्षेप ।

अटो व्यवसायमा कहिले देखि लाग्नुभयो ?
बुटवलको ट्राफिकचोकको पूर्व तिर पुरानो बसपार्कमा २०३२ सालमा अनन्त मोटर पार्ट्सको पसल खोलेर बुबा उमानाथ पाण्डे यो पेशामा लाग्दै आउनु भयो । पछि म्यानेजिङ डाइरेक्टरको रुपमा २०५२ सालदेखि काठमाडौँ अनन्त मोटर पार्ट्स बुटवल नाम राखेर यो व्यवसायमा मेरो संलग्नता भयो । बुवाले यो पेशा गर्दै आउनुभएकोले पहिले देखि नै यो क्षेत्रका बारेमा केही जानकारी भएकोले पनि यो अटो व्यवसाय मेरो व्यवसायको पनि रोजाई बन्न पुगेकोे हो ।

हाल के के काममा संलग्न हुनुहुन्छ ?
बुटवल मैनाबगरमा काठमाडौँ अनन्त मोटर पार्ट्सको संचालक छु भने जुपिटर अटो डिस्ट्रव्युटर्स प्रालिको म्यानेजिङ डाइरेक्टर तथा नर्थ हाइड्रो इन्जिनियरिङ प्रालिमा अध्यक्षको रुपमा आवद्ध छु । त्यस्तै लायन्स क्लब अफ फूलवारी बुटवलमा डाइरेक्टरको रुपमा कार्यरत छु ।

तपाई संलग्न संस्थाहरुमा के कस्ता कामहरु हुन्छन् ?
जुपिटर अटो डिस्ट्रव्युटर्स १५ जनाको लगानीमा संचालित छ । यहाँ मोटर पार्ट्सको होलसेल कारोबार हुन्छ । नर्थ हाइड्रोमा हाइड्रो सम्बन्धी सामान उत्पादन गरि जडान गर्ने काम गर्दछौँ । यो संस्था संचालन भएको ३ वर्ष भयो । नेपाल अधिराज्य भरका अर्डर अनुसार सामानहरु निर्माण र फिटिङ गर्छौ भने भविष्यमा हाम्रो टिमले विद्युत उत्पादन गर्ने लक्ष्य समेत लिएका छौँ । हामीले काठमाडौँ अनन्त मोटर पाटर््स बुटवल, बुटवलमा लामो समय देखि चलाउँदै आएका छौँ । जहाँ टाटा, ठुलो हेभी गाडीका सबै पार्टपूर्जा, अशोक लेल्यान्ड गाडी, आइसर, स्वराज माज्दाका पार्टपूर्जा बिक्री वितरण गर्दै आएका छौँ ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्ष हुनुहन्छ, के कस्ता कामहरु गर्नुभयो त ?
विगतमा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्षहरुले अगाडि बढाएका महत्वपूर्ण कामहरुलाई निरन्तरता दिदैँ आएका छौँ । एडिबिको थ्रि पि विकासको काम अगाडि बढाउने प्रयत्नमा छौँ । सबै व्यवसायीलाई खुशी बनाएर यो अटो भिलेजलाई नमुना अटो भिलेज बनाउन क्रियाशिल रहँदै आएको छु । र हालमा लामो समय देखि हुन नसकेको यो थ्रि पिको काम अगाडि बढाउन एडिबि र नगरपालिकासँग सहमति पनि भैसकेको छ । एडिबिको यो कार्यक्रम यो क्षेत्रमा लागु गर्न सफल भयौँ भने अटो भिलेजमा ठूलो परिवर्तन आउने छ र व्यवसायीलाई फाइदा हुने महसुस गरेको छु ।

अरु के कस्ता महत्वपूर्ण काम गर्नुभयो ?
अटो व्यवसायी तथा मजदुरहरुलाई आवश्यकता अनुसार तालिम प्रशिक्षण, अटो व्यवसायी मिस्त्रीलाई नयाँ गाडी, युरो ३, युरो ४ मोडेलका गाडीको प्रशिक्षण तालिम, सेनाका जवानहरुलाई अटो सम्बन्धि प्रशिक्षण दियौ । यो अटो भिलेजमा पानी जम्ने, खाल्डाखुल्डी, बर्षामा हिलो हिउँदमा धुलो जस्तो प्रदुषित वतावरणले मजदुर, व्यवसायी निकै समस्यामा थिए । यसलाई व्यवस्थित गर्नुपर्छ भनेर खाल्डाखुल्डी पुर्यौं, सरसफाइको महाअभियान नै संचालन गरेका छौँ । हरेक महिनाको अन्तिम साता अटो व्यवसायीहरु नियमित सरसफाइमा जुटेका छौँ । यो पनि एउटा महत्वपूर्ण उपलब्धि हो । त्यस्तै मैनाबगर भित्र रहेको कल्याणकारी कोष काटेका अटो व्यवसायी र मजदुर वर्गमा कल्याणकारी कोषको राशी बढाउने तयारी पनि गरेका छौं ।

भावी महत्वपूर्ण योजना के छन् त ?
मैले अगाडि पनि भने एडिबिको थ्रि पि प्रोजेक्टलाई सफल पार्ने, अटो भिलेजलाई धुलो मुक्त प्रदुषण रहित क्षेत्र बनाउने । त्यसका लागि सरसफाई महाअभियान पनि संचालन भइसकेको छ । यसमा नगरपालिका र सरोकारवाला निकायले सहयोग गरे अटो भिलेज क्षेत्रलाई साँच्चै नमुना क्षेत्र बनाउने प्रयासमा सफल हुने छौँ । अटो व्यवसायी साथीहरुबाट पनि राम्रो सहयोग मिल्दै आएको छ । अटो क्षेत्रमा निकै प्रतिस्पर्धा छ । अन्य ठाउँमा पनि अटो ग्यारेज खुलेका छन् । अव हामी मिलेर अगाडि नबढ्ने हो भने धेरैले यो पेशाबाट हात धुनपर्ने अवस्था आउने छ । तसर्थ बुटवलको मैनावगरमा राम्रो गुणस्तरीय सेवा पाइन्छ भन्ने छाप पार्न आवश्यक छ ।

अटो क्षेत्रमा खास समस्या के छन् ?
यो क्षेत्रमा ढल नाली, खानेपानी सरसफाई अझै व्यवस्थित हुन सकेको छैन । एडिबिको प्रोजेक्ट लागु हुन्छ भनेर नगरपालिकाले पनि यो क्षेत्रको बिकास निर्माणका लागि केही वर्षदेखि खासै ध्यान दिएको छैन । पछिल्लो समय ट्राफिकको समस्या पनि बढ्दो छ । मजदुर वर्गहरुमा हिसाब किताव राख्न समस्या देखिदै आएकाले एकद्वार कर प्रणाली हुन सक्यो भने अटो व्यवसायीलाई ठुलो सहयोग हुनेछ । त्यस्तै लोन सर्वसुलभ छैन, यो क्षेत्रमा उधारोमा काम गर्नु पर्छ ।

अनि यो अटो क्षेत्रको स्पष्ट नीति नियम नहुँदा अटो व्यवसायीहरु धेरै समस्या भोग्न बाध्य छौँ । करिब ६ सय अटो व्यवसायी बसोबास गर्ने यो क्षेत्रमा विद्युतको समस्या पनि जल्दो बल्दो रुपमा छ । लो भोल्टेज, पटक पटक ट्रिपिङले गर्दा बडी कारखाना, अन्य कल कारखाना लगायतका अटोसँग सम्बन्धित कामहरु निकै प्रभावित भएको छ ।

अन्त्यमा ?
बुटवलको मैनाबगरमा अवस्थित अटो भिलेज देशकै नमूना अटो भिलेज हो । तर पनि लामो समयदेखि अटो भिलेज बिकासमा पछाडि परेको छ । यो क्षेत्रको बिकासका लागि सवै सरोकारवाला निकाय र अटो व्यवसायीवाट सहयोगको अपेक्षामा छु । यो क्षेत्रलाई प्रदुषणमुक्त धुलो रहित ठाउँ बनाउन बिकास निर्माण गर्न मेरो टिम क्रियाशील रहने छ ।

 

कमेन्ट गर्नुहोस्