Check, click, shop
आयो आउडीको पहिलो इलेक्ट्रिक एसयूभी, टेस्लालाई टक्कर

जर्मन लक्जरी कार निर्माता कम्पनी आउडीले सान फ्रान्सिस्कोमा आयोजित एक इभेन्टमार्फत आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । सो कार एकदमै नयाँ प्रविधिका आधाारमा तयार गरिएको छ ।

आउडीको सो ई–ट्रोन ५५ क्वाट्रो कारलाई एक स्पोर्टी एसयूभी भनिएको छ, जुन एक पटक फुल चार्ज गर्दा ४ सय २ किलोमिटर यात्रा तय गर्न सक्छ । इलेक्ट्रिक कार भएर पनि यसले शून्य देखि ९६.५ किलोमिटर प्रतिघण्टाको गति केवल ५.५ सेकेन्डमै लिन सक्छ ।

आगामी बर्ष सन् २०१९ को दोस्रो त्रैमासिक सम्म सो कारलाई बिक्रीका लागि डिलर सम्म उपलब्ध गराइने छ । यसको मूल्य ७४ हजार ८ सय डलर अर्थात करिब ८७ लाख रुपैयाँ हुनेछ ।

आकर्षक डिजाइन
आउडी ई–ट्रोन ५५ क्वाट्रोलाई निकै नै स्पोर्टी र एरोडाइनामिक डिजाइनका साथ तयार गरिएको छ । यही अनौठो डिजाइनले नै इलेक्ट्रिक भएर पनि तीव्र गति लिनका लागि सहयोग गरेको हो । यसमा भएको टचस्क्रिन ड्यासबोर्ड र इन्टरटेनमेन्ट सिष्टमले एलेक्सा भ्वाइस असिष्टेन्टलाई पनि सपोर्ट गर्छ ।

हाई क्यापासिटी ब्याट्री
कारमा धेरै क्षमतायुक्त ९५ किलोवाटको ब्याट्री युनिट छ । यो टेस्लाको इलेक्ट्रिक कारमा भएको ब्याट्री युनिट भन्दा पनि राम्रो भएको बताइएको छ । सो ब्याट्री युनिटलाई १५० किलोवाट चार्जरको सहयोगले ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसको अर्थ अब चार्जिङका लागि घण्टौ पर्खिनु पर्ने बाध्यता हुने छैन ।

इलेक्ट्रिक मोटर्स
आउडीको सो ई–ट्रोन एसयूभीको फ्रन्ट र रियर एक्सलमा इलेक्ट्रिक मोटर्स लगाइएको छ । यसले संयुक्त रुपमा ३०० किलोवाट अर्थात ४०२ एचपी पावर र ६६४ एनएम टर्क प्रदान गर्छ । सो एसयूभीलाई प्रिमियम इलेक्ट्रिक भनिएको छ । दैनिक जीवनलाई सहज बनाउनुका साथै परफर्मेन्स पनि राम्रो दिने खालको कार बनाउने लक्ष्यका साथ आउडीले यसको निर्माण गरेको बताएको छ ।

आवाज आउदैन
आउडीका अनुसार ई–ट्रोन एसयूभी चलाउदा इन्जिनको कुनै आवाज आउदैन । अन्य फिचरको कुरा गर्दा यसमा २० इन्चका ठूला ह्विल्स, तातो र चिसो हुने सिट, थ्रीडी अडियो, पार्किङ क्यामेरा र वायरलेस फोन चार्जिङ प्याड उपलब्ध छन् ।

७ ड्राइभिङ मोड
कारमा ७ सेलेक्टेबल ड्राइभिङ मोड दिइएको छ । त्यसैले परिस्थिति अनुसारको मोड सेलेक्ट गरी चलाउन सकिन्छ । यसमा भएको एयर सस्पेन्सन सिष्टमलाई ३ इन्च सम्म तल वा माथि गर्न सकिन्छ र उबडखाबड जमिनमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

आउडीले सन् २०२५ सम्म २० भन्दा बढी इलेक्ट्रिक कारको मोडल ल्याउने जानकारी दिएको छ । यसबाट पनि आगामी दिनमा इलेक्ट्रिक कारको प्रयोग अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

Subscribe Now